बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माण गरिँदै
काठमाण्डौ । असोज दोस्रो हप्ताको बाढी पहिरोबाट क्षतिग्रस्त भएको बीपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको छ ।
बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बीपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको थियो ।
सडक विभागले हाल भकुण्डेबेँसीबाट नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकको स्तरोन्नतीसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ ।
सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाएको छ । परामर्शदाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।