आज विश्व माटो दिवस : माटोको परीक्षण

काठमाण्डौ । आज ११ औँ विश्व माटो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।

यसवर्ष ‘माटोको सुधार ,परीक्षण, रेखदेख र उपचार’ नाराका साथ माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि खेतीयोग्य जमिनका माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रलगायत सङ्घ संस्थाहरूले गरेको अध्ययनले माटोमा अम्लीयपनको समस्या पनि बढेको देखाएको छ ।

रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको कृषिविज्ञले बताएका छन् । उत्पादनका मुख्य आधारहरु माटो, पानी र मौसम हुन् ।

कुनै एक आधारमा फेरबदल हुँदा समग्र उत्पादन नै प्रभावित हुने भएकाले सिँचाईको व्यवस्थापनसँगै माटोको गुणस्तरमा ध्यान दिन कृषि विज्ञहरुको आग्रह छ ।