एनपीएल: लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
काठमाण्डौ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनायो । यो जारी लिगको सर्वाधिक ठुलो योगफल हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाउनुभयो । उहाँले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५/१५ र सन्दीप जोराले १२ रन बनाउनुभयो ।
बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । लुम्बिनीको यो लिगमा पहिलो खेल हो । तेस्रो खेल खेलिरहेको विराटनगरले यसअघिका दुई खेलमा हार खेपेको छ ।
विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोट्ल्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।