गाडिएको अवस्थामा १ युवतीको शव फेला

गोरखा । गोरखामा १ युबतीको खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका –१ घर भएकी १८ बर्षिया युबतीको बारपाक नजिकको मैखर्क जंगलमा शव फेला परेको हो ।

गत मंसिर १५ गते घाँस काट्न भनी हिडिकी युबतीको बारपाक सुलीकोट गाउँपालिका -१ बारपाक घर भएकी सुचिना घलेको शव खाल्डोमा गाडिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस काट्न जंगलमा गएकी सुचिना घर नफर्किएपछि परिवारले खोजी गर्नका लागि प्रहरी चौकी बारपाक र ईलाक प्रहरी कार्यालय जौबारीमा निबेदन दिएको उहाँले बताउनुभयो ।

प्रहरीलाई निबेदन प्राप्त हुनासाथ जौबारी प्रहरी र बारपाक प्रहरीको साथै स्थानीयको सहयोगमा खोजतलास गर्दा मंगलबार बेलुका ६ बजे बारपाकनजिक रहेको जंगलमा खाल्डोमा पुरिएको अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले हत्या भएको आंशकमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखारासँग समन्वय गरी कुकुरसहितको बिशेषज्ञ टोली अहिले अनुसन्धानका लागि घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख बासुदेब पाठकले जानकारी दिनुभयो ।

घटनास्थल नजिक डोको, रगत र कपाल समेत भेटिएकाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी प्रमुख पाठकले बताउनुभयो ।

धार्चे गाउँपालिका -६ काशीगाउँ माइती भएकी घलेको शब माइती पक्ष आएपछि मात्र निकालिने भएको छ । प्रारम्भिक अनुसन्धान तथा घटनाको प्रकृति हेर्दा हत्या हुुन सक्ने अनुमान भएकाले स्थानीय जनप्रतिनिधि र युबतीको माइती पक्ष प्रहरीको रोहबारमा मात्र शव निकाल्ले तयारी भएको बताउनुभयो ।