दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानून हट्यो
एजेन्सी । दक्षिण कोरियाली संसदमा चर्को आलोचना भएपछि राष्ट्रपति यून सुक येओलले मार्सल ‘ल’ अर्थात सैन्य कानूनको घोषणा फिर्ता लिनुभएको छ ।
सांसदहरुले दनमा शैन्य कानून लागू गर्ने घोषणाविरुद्ध कडा प्रतिवाद गरेपछि राष्ट्रपति यून आफ्नो निर्णयबाट केही घण्टामै पछि हट्नु परेको हो । सिओलको नेशनल ऐसम्ब्ली अर्थात राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका बीबीसीले जनाएको छ ।
राष्ट्रपतिको कदमलाई लिएर संसद बाहिरसमेत प्रदर्शन भएको छ । उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न भन्दै राष्ट्रपति यूनले देश विरोधी तत्वलाई सखाप पार्न सैनिक शासन घोेषणा आवश्यक परेको दाबी गर्नुभएको थियो ।
राष्ट्रपति यू आदेशबाट पछि हटेलगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ ।
यसैबीच, राष्ट्रपति यूको मार्सल ‘ल’ घोषणाबाट अमेरिकी विदेश विभागका अधिकारीहरु सतर्क भएर बसेका छन् । यो घटनाले वासिङ्टन र सियोलको रणनीतिक महत्वको गठबन्धन सङ्कटमा पर्नबाट जोगिएको बहस हुन थालेको छ भने वासिङ्टनलाई थाहा नदिई सियोल नेतृत्वले यति कठोर कदम उठाउनु असाधारण कुरा भएको खबरमा उल्लेख छ ।
कुनै देश आपतकालीन अवस्थामा पुग्दा सैनिक शासन लगाउने गरिन्छ । त्यहाँको विपक्षी पार्टीले सैनिक शासन लगाउने राष्ट्रपति यूनको कदमलाई असंवैधानिक भनेको छ ।