प्रधानमन्त्री ओलीको चीन भ्रमणमा आज के के भयो ? यस्तो छ परराष्ट्र प्रवक्ताको ब्रिफिङ
काठमाडौं । चीनको औपचारिक भ्रमणको क्रममा आज दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली धेरै व्यस्त भए । उनले आज एकै दिन चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि छियाङ र चिनियाँ जनकंग्रेसका अध्यक्षसँग भेटे ।
आजको कार्यक्रमबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृृष्णप्रसाद ढकालले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लि छियाङलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा दुई देशको सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा भ्रमणको निम्तो दिएका छन् ।
प्रधानमन्त्री लि र राष्ट्रपति सी दुवैले उचित समयमा भ्रमण गर्ने बताएका छन् । यस्तै सीले नेपाललाई ५० करोड युआन अनुदान दिने घोषणा गरेका छन् । उनले नेपाली वस्तु चीनमा निर्यात बढाउन सहज गर्ने पनि बताएका छन् ।
चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा जान पनि प्रेरित गर्ने राष्ट्रपति सीले प्रधानमन्त्रीसँग बताएको प्रवक्ता ढकालले बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्ध पञ्चशील, सार्वभौम समानता, आपसी विश्वास आदिमा भएको भन्दै चीनले गरिबी निवारणको सफलता पाएकोमा प्रशंसा गरेका थिए । नेपालको विकासमा पनि चीनसँग साथ खोजेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
आजै नेपाल र चीनबिच नौ बुँदे सहमति भएको ढकालले जानकारी दिएका छन् ।