साँवामा पुरुष फुटबल र भलिबल प्रतियोगिता हुने तयारी

ताप्लेजुङ। ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका–४ साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । साँवाको थलङ स्पोर्टिङ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

सदरमुकाम फुङ्लिङमा आज बिहान क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । किराँत लिम्बू समुदायको साँस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) अवसरमा मङ्सिर ३० देखि पुस ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिनुभयो ।

अध्यक्ष थलङका अनुसार खुला पुरुष फुटबलतर्फ विजेताले १ लाख १ हजार १११ रुपैँया  नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले ६१ हजार रुपैँया नगदका साथ पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै, अन्तर वडास्तरीय भलिबलतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आयोजक क्लबका अनुसार खुला पुरुष दौड (मिनि म्याराथन) प्रतियोगिता पनि आयोजना गरिएको छ । म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार रुपैँया, सात हजार र पाँच रुपियाँ नगद पुरस्कार प्रदान गरिने क्लबका सल्लाहकार संयोजक बिके थलङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रयोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।

खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फङगे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव पूर्ण थलङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार माबो लिम्बू लगायतको उपस्थिति रहेको थियो ।