‘भीभीआईपी’को बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधिकारीको सङ्ख्या घटाइयो
काठमाण्डौ । विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा÷आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।
प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए ।
त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ ।