पालिका उपचुनाव स् केही ठाउँमा आजै मतगणनाको तयारी

काठमाण्डौ । पालिका उपचुनावको मतगणना आजै रातिदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान सम्पन्न भएसँगै सर्वदलीय छलफल गरे आजै बेलुकादेखि वडाहरूको मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भोलि बिहानदेखि मतगणना शुरू हुने आयोगका सहायक प्रवक्ता चालिसेले बताउनुभयो ।

दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना शुरू गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि शुरू भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसो ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेको सहायक प्रवक्ता चालिसेले बताउनुभयो ।

बढी मतदाता भएका पालिका जस्तै– काठमाण्डौको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिकालगायतका ठाउँमा मतपरिणाम पर्सिसम्म मात्रै आउने चालिसेले जानकारी दिनुभयो ।

पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपचुनावमा ६२ प्रतिशतभन्दा धेरै मत खसेको छ ।