नोभेम्बरमा १ लाख १४ हजार जनाभन्दा धेरै पर्यटक नेपालमा भित्रियो
काठमाण्डौ । हिजो सकिएको नोभेम्बर महिनामा नेपालमा १ लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा ५ दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले धेरै हो ।
नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।
समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार १ सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ९ हजार ४ सय ५८ सहित एशियाका देशबाट २४ हजार ८ सय ९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट ३ हजार ९ सय २६ र फ्रान्सबाट ३ हजार ८ सय ४१ जना पर्यटक आएका छन् । युरोपबाट समग्रमा २६ हजार १ सय ५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।
न्युजिल्यान्ड र अस्ट्रेलियाबाट ५ हजार तीन सय जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट १ हजार नौ सय ८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४ सय र अरू देशबाट १२ हजार ५ सय जना पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।