एनपीएलकाे उद्घाटन खेलमा जनकपुरले टस जितेर बलिङ गर्दै
काठमाण्डौ । बहुचर्चित र बहुप्रतिक्षित नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएलको त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भव्य उद्घाटन भएको छ ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सले खेल्दैछन् । विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिल साहले गर्दैछन् । जनकपुरले टस जितेर बलिङ रोजेको छ ।
एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । त्रिवी क्रिकेट मैदानलाई अहिलेसम्मकै चिटिक्क बनाइएको छ ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्दैछ । एक्सन स्पोर्टसको युटुव च्यालनमा पनि खेलको प्रशारण हुनेछ ।