इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन चेतावनी दियो

इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन चेतावनी दिएको छ । गएको बुधवार इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराम भएपछि दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौँ नागरिक आफ्ना घर फर्किने तयारीमा छन् । तर इजरायली सेनाले लेबनानको दक्षिणी क्षेत्रका ६० वटा गाउँमा नफर्कन मानिसहरूलाई चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ ।

इजरायल र हिजबुल्लाहबीच गएको बुधवार नोभेम्बर २७ तारिखमा युद्धविराम भएको थियो । युद्ध शुरु भएपछि विस्थापित भएका हजारौँ लेबनानी विस्थापित मानिसहरू युद्धविरामपछि आफ्नो घर फर्किँदैछन् ।

विस्थापित नागरिकहरूमध्ये धेरैजसो लेबनानको दक्षिणी भागका बासिन्दा थिए । इजरायलले अहिले पनि हिजबुल्लाहले युद्धविराम विपरितका गतिविधि गरिरहेको भन्दै नागरिकलाई घर नफर्कन भनेको हो ।

इजरायली सेनाले लेबनानको दक्षिणी भागको नक्सा प्रकाशित गरेर नागरिकलाई नफर्कन भन्दै फर्किनेहले आफूलाई खतरामा पारिरहेको जनाएको छ ।

इजरायल र हिजबुल्लाह दुवैले एक अर्कालाई युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
 एजेन्सी