कोशीमा एमाले-कांग्रेस संयन्त्रको बैठक सम्पन्न (निर्णयसहित)

काठमाण्डौ । कोशी प्रदेशमा सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसको दुई दलीय संयन्त्रको बैठक सम्पन्न भएको छ। आज नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईको अध्यक्षतामा कोशी प्रदेशको दुई दलिय संयन्त्र बैठक सम्पन्न भएको हो।

बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापा साथै प्रदेशका मन्त्रीहरु र संयन्त्रका सदस्यहरु बैठकमा सहभागी हुनुहुन्थ्यो। बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन साथै सरकारको कामलाई प्रभावकारी बनाउने लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै निर्णय गरेको छ।

यी हुन् बैठककका निर्णयहरू:
१. प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन
माननीय मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यन्वयनमा विशेष ध्यान केन्द्रित गर्ने।
बजेट संशोधनको तयारी शुरु गर्ने र दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक माँगहरुलाई आधार मानी कार्यन्वयनयोग्य कार्यक्रमहरुमा बजेटलाई केन्द्रित गर्ने।
प्रदेश सरकारबाट सञ्चालित बहुबर्षिय वा अन्य प्रकृतिका आयोजनाहरुको स्टाटस केलाई क्रमशस् सम्पन्न गर्ने गरि आयोजनाहरुको बर्गिकरण गरि निर्माण कार्य सम्पन्न गर्दै जाने गरि बजेटलाई केन्द्रित गर्ने।
प्रदेश सरकारका सामु रहेका चुनौतिहरुलाई सामना गर्न नियमीत छलफल, परामर्श र समीक्षा गर्दै अवसर र संभावनाहरुको अधिकतम उपयोग गर्ने।
दुई दलिय संयण्त्र मार्फत समेत केन्द्रबाट पहल गरि विभिन्न शिर्षकहरुमा थप बजेटका लागि पहल गर्ने।

२. प्रदेश सरकारको महत्वपुर्ण र प्राथमिकता प्राप्त कार्यक्रमहरु-
प्रदेश लगानी सम्मेलन, अन्तराष्ट्रिय चिया सम्मेलन र पर्यटन बर्ष महोत्सव लगायतको तयारी र ब्यवस्थापन राम्रो गर्ने, निजी क्षेत्र सबैलाई समेटने र भुमिका दिने।
उपरोक्त सम्मेलन र महोत्सवहरुलाई ऐतिहासिक र उपलव्धीमुलक बनाउने, अर्थात राम्रो र भव्य बनाउन ध्यान दिने।
लगानी सम्मेलन सम्बन्धमा निजी क्षेत्रबाट केही असन्तुष्टिहरु ब्यक्तिगत र संस्थागत रुपमै रहेको छ भन्ने बिषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने र संयन्त्र मार्फत समेत आधिकारिक कुराहरु बुझि सरकारलाई संयन्त्रले आवश्यक सुझाव दिई सहजीकरण गर्ने।

३. सरकारको कामलाई प्रभावकारी बनाउन-
नियमित सरकारले आन्तरिक रुपमा समीक्षा गर्ने।
दुई दलिय संयन्त्र र सरकारबीचको छलफललाई समेत नियमीत गर्ने।

४. प्रदेश सरकारले गरेका राम्रा कामहरुलाई जनस्तरमा पुर्‍याउन
प्रदेश सरकारबाट शुरुवातीबाटै भएका गरिएका अहिले सम्मका राम्रा कामहरुलाई ब्यापक रुपमा जनस्तरमा स्थापित गर्न सरकारले आवश्यक सामाग्री निर्माणको काम गर्ने ।
सरकारी संयन्त्र र दलिय संयन्त्र मार्फत पार्टी पंक्तिलाई परिचालन गरी जनस्तरमा पुर्‍याउने।

५. समसमायिक बिषयहरुका बारेमा-
प्रदेश सरकार मातहतका सहकारीहरुको बचत, लगानी र अन्य अपचलन लगायतको बिषयहरुको अधययन गर्न सरकारले एक समिती गठन गर्ने ।
पाथीभरा केवलकार निर्माण प्रक्रियामा देखिएक‍ो द्वन्द र झडपबाट उत्पन्न समस्या समाधानका लागि तत्काल सरकार र दुई दलिय संयन्त्रले आ-आफ्नो तर्फबाट निर्माण कम्पनी र आन्दोलनरत पक्षसंग वार्ता र संवाद गरि उपयुक्त निकास लिने ।
प्रदेश नामाङ्कन बिषयलाई लिई आन्दोलनरत पहिचानबादीहरुसंग समेत वार्ता समिती बनाई सरकारले संबाद गर्ने । दुई दलिय संयण्त्रले समेत आवश्यक संबाद र सहजीकरण गर्ने ।
एशियन हाइवे (पूर्ब पश्चिम) निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपुर्ति लगायतमा उत्पन्न समस्या समाधानका बारेमा समेत सम्बन्धित पक्षहरुसंग तत्काल संबाद र छलफल गरि समाधानका लागि सरकार र संयन्त्रले पहल गर्ने ।
अनेकन बहानामा सामाजिक सद्भाव र सहिष्णुता भडकिन र भडकाउन गरिने प्रयासहरुका बारे सरकार र दुई दलिय संयन्त्र सचेत रहने ।