अर्घाखाँचीमा बसको ठक्करबाट १ जना बालिकाको मुत्यु, १ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा बसको ठक्करबाट १ जना बालिकाको मुत्यु भएको छ । १ जना घाइते भएको छ ।

हिजो शुक्रबार बेलुका गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत नरपानीको धारा बजारमा लु २ ख १४१५ नम्बरको बसको ठक्करबाट शितगंगा ४ अमराई बस्ने १२ वर्षकी विनिता बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभएको छ ।

बसको ठक्करबाट घाइते भएकी शितगंगा ४ अमराईकी १० वर्षकी एलिना बिकको अर्घाखाँचीमा अस्पतालमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लको भनाइ छ । बस चालक र बसधनीलाई प्रहरीले पक्राउ गरेको छ ।