गुणस्तर प्रत्यायनको मार्गमा मदन भण्डारी मेमोरियल कलेजको अर्को कदम
सुप्रिया राई, काठमाण्डौ, मंसिर १४ । विश्वविद्यालय अनुदान आयोग (यूजिसी) नेपालको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रियाअन्तर्गत मदन भण्डारी मेमोरियल कलेजमा चारदिने गुणस्तर मूल्याङ्कन प्रक्रिया सम्पन्न भएको छ । मंसिर ११ देखि १४ गतेसम्म चलेको मूल्याङ्कनमा प्रा. डा. रञ्जना गुप्ताको नेतृत्वमा प्रा. डा. अच्युत ज्ञवाली र भगवती पौडेलसहितको टोलीले विभिन्न गतिविधिहरू सम्पन्न गरेको हो।
टोलीले विद्यार्थी, कर्मचारी, अभिभावक, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समिति, क्याम्पस प्रशासन, र अन्य सरोकारवाला पक्षहरूसँग छलफल गर्दै शिक्षण अभ्यास, विद्यार्थी सन्तुष्टि, शैक्षिक स्रोत, र संस्थागत सहयोगका विषयमा समीक्षा गर्यो । मूल्याङ्कनको पहिलो दिन कलेजका सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले कलेजको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
दोस्रो दिन टोलीले शिक्षकहरूसँग शिक्षण अभ्यास, अनुसन्धान गतिविधि, र व्यावसायिक विकासका अवसरबारे छलफल गर्यो । अभिभावक र स्थानीय जनप्रतिनिधिहरूका विचारलाई टोलीले विशेष महत्व दिएको थियो । टोलीले कलेजका भौतिक संरचना, कक्षाकोठा, र विद्यार्थीलाई प्रदान गरिने सुविधाहरू अवलोकन गरी आवश्यक कागजात प्रमाणित गर्यो ।
तेस्रो दिन टोलीले पूर्वविद्यार्थीहरूसँग अन्तक्र्रिया गर्दै उनीहरूको गतिविधि, कलेजप्रतिको प्रतिबद्धता, र कलेजले गरेको सहयोगका विषयमा छलफल गर्यो। रोजगारदाताहरूसँग भेट गरी विद्यार्थीहरूको रोजगारी अवसर र सहकार्यका सम्भावनाबारे योजना बनाइएको थियो । साथै, टोलीले अनुसन्धान व्यवस्थापन समिति, समुदायका सदस्य, र अन्य सरोकारवालाहरूको सहभागितामा कलेजको ब्रान्डिङ, अनुसन्धान व्यवस्थापन, र अनुसन्धान–शिक्षण समायोजनका चुनौतीबारे छलफल गर्यो ।
टोलीले शिक्षण पद्धति र पाठ्यक्रमलाई समयसापेक्षित बनाउँदै शिक्षकवर्गको सहकार्यात्मक सहभागितालाई प्रोत्साहन गर्न सुझाव दिएको छ। आन्तरिक गुणस्तर सुनिश्चितता समिति (आईक्यूएससी) र आत्ममूल्याङ्कन टोली (एसएटी) ले सुधारका लागि सकारात्मक संकेत दिएको जनाएको छ। सोही दिन विद्यार्थीहरूले सांस्कृतिक झाँकीसहित आफ्नो कला प्रस्तुत गरी सृजनात्मकता र विविधता झल्काएका थिए ।
चौथो दिन, मंसिर १४ गते, टोलीले मूल्याङ्कन प्रतिवेदनको मस्यौदा तयार गरी कलेज प्रशासनलाई हस्तान्तरण गर्यो । कलेज व्यवस्थापन समिति (सीएमसी) का अध्यक्ष महेन्द्र बहादुर पाण्डेले गुणस्तर सुधारका लागि कलेज पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले तीन महिना भन्दा छिटो समयमा क्यूएए प्रक्रिया पूरा गरी विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न प्रयासरत हुने विश्वास व्यक्त गर्नुभयो।
कलेज प्रमुख डा. बाबुराम अधिकारीले क्यूएए प्राप्तिको यो प्रक्रिया कलेजको शैक्षिक यात्रामा महत्त्वपूर्ण माइलस्टोन रहेको बताउनुभयो। उहाँले बाँकी मापदण्डहरू चाँडै पूरा गरी समयमै प्रतिवेदन पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मूल्याङ्कन प्रक्रिया सम्पन्न भएसँगै कलेजले गुणस्तर प्रत्यायनका लागि आवश्यक सुधारहरू गर्न थप मार्गनिर्देशन पाएको छ। क्यूएए प्राप्तिले कलेजलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।