काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः निवेदन माग

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिकाले लालपुर्जाको समस्या रहेका वडा नम्बर ७ र ८ का बासिन्दासँग पुनः निवेदन मागेको छ । ५ दशकदेखि आफ्नै जग्गाको लालपुर्जा नभएका स्थानीयवासीको समस्या समाधान गर्न गाउँपालिकाले पुनः निवेदन माग गरेको हो ।

केही वर्षअघि माग गर्दा गाउँपालिका कार्यालयमा ९ सय ८४ निवेदन परेका छन् । २ वडामा झन्डै २ हजार ५ सय परिवार लालपुर्जाविहीन अवस्थामा रहेका विवरणका आधारमा छुट भएकासँग निवेदन मागेको गाउँपालिकाले जनाएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गएको कात्तिक दोस्रो हप्ता स्थलगत अनुगमनपछि अघि बढेको प्रक्रियाले समस्या समाधान गर्ने बाटोमा गएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताउनुभयो ।

साविकको पिपलटार गाविस फुट्दा बनेका भुम्लुटार र फलाँटे गाविस दुवैले टार भन्ने ठाउँको खेतीयोग्य जमिनमा दाबी गरेपछि २०३२ सालमा नापी गर्न गएको टोली त्यत्तिकै फर्किएको थियो । २०३५ सालमा पुनः नापी टोली जाँदा २ गाविसका बासिन्दाबीच झडप नै भएको थियो ।

त्यसपछि पटक पटक समाधानको प्रयास भए पनि समस्या उस्तै छ । आफ्नै जग्गाको लालपुर्जा नहुँदा झन्डै दुई हजार पाँच सय परिवारले जग्गासम्बन्धी कुनै नि कारोबार गर्न पाएका छैनन् ।