काठमाण्डौ महानगरपालिकाद्धारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ ।

१६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने जनाएको हो ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले निकाल्नुभएको विज्ञप्तीमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यसम्बद्ध निकाय र पदिाधिकारीहरूबाट असहयोग रहेको कारण लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय भएको उल्लेख छ ।

यस्तै विज्ञप्तीमा महानगरले लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरु निरन्तर गरिरहेको उल्लेख छ । आवश्यक नीति, कानून, कार्यक्रम र बजेट व्यवस्था गरी वर्षैैभरी जोखिममा परेका, विशेष संरक्षणको आवश्यक भएका लगायतको उद्धार, संरक्षण, उपचार, कानूनी सहायतालगायतका कार्यक्रम गरीरहेको महानगरको भनाइ छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिनलाई लैङ्गिक हिंसा विरुद्धको रूपमा अभियान हुँदै आएको छ ।