सःशुल्क धरहरा खुलेको पहिलो दिन उठ्यो दुई लाख २० हजार ६५० रुपियाँ राजस्व

काठमाण्डौ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व उठेको छ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार आइतबार मध्यान्ह १२ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म धरहरा सर्वसाधारणका खुला गरिएको थियो। उहाँका अनुसार आइतबार जम्मा ६ सय ६३ जनाले धरहरा चढेका छन्।

निर्देशक अर्यालका अनुसार दश वर्षमुनिका बालबालिकालाई पुरै छुट गरिएको छ। ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग, अशक्तलाई ५० प्रतिशत छुट गरिएको छ। आज पार्किङको शुल्क नलिइएको उहाँले जानकारी दिनुभयो।

केही समयअघि बिजुलीको ट्रान्सफर्मरका कारण धरहराको लिफ्टमा समस्या आएको थियो। उहाँले अहिले लिफ्टमा कुनै समस्या नभएको जानकारी दिनुभयो।