शेयर बजार १३ अङ्कले घट्यो

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य ३ अङ्कले घटेर दुई हजार ६ सय ६७ दशमलव ४० विन्दुमा झरेको छ ।

आज लगानी र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सेन्चुरी कमर्सियल बैंकको डिबेन्चर २०८८ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंकको डिबेन्चर २०८२ को शेयर भने ९  प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज ३ सय २२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ७ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ६० करोड रुपैयाँको शेयर किनबेच भयो ।