भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना हुदै

भारतको महाराष्ट्र र झारखण्डमा विधान सभा चुनावको मतगणना भइरहेको छ । बिहान साढे ८ बजेपछि मतगणना सुरू भएको हो ।

प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधान सभामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले सुरुआती अग्रता लिएको छ । महाराष्ट्रका २ सय ८८ मध्ये ७३ सिटको मतगणना चलिरहेको छ । त्यसमध्येका ६२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । कंग्रेस आई नेतृत्वको गठबन्धनले ७ सिटमा मात्रै अग्रता लिएको छ ।

त्यस्तै झारखण्डको ८१ मध्ये ३१ सिटको मतगणना हुँदा भाजपा नेतृत्वको गठबन्धनले २४ सिटमा अग्रता लिँदा ७ सिटमा झारखण्ड मुक्ति मोर्चा र कंग्रेस आईसहितको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

महाराष्ट्र विधान सभामा बहुमतका लागि एक सय ४५ सिट र झारखण्ड विधानसभाका लागि ४१ सिट जित्न आवश्यक छ । महाराष्ट्रको दुई सय ८८ विधान सभा सिटका लागि बुधवार एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा मतदान भएको थियो ।

महाराष्ट्रमा ६५ प्रतिशत र झारखण्डमा झण्डै ६८ प्रतिशत मत खसेको छ । यी २ राज्यका विधान सभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोक सभा सिटका साथै केही राज्यका विधान सभा सिटका लागि उपचुनाव भएको छ ।

केरलाको वायनाड लोक सभा उपचुनावको मतगणना भइरहेको छ । भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले फराकिलो अग्रता लिनुभएको छ । कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरी दोस्रो हुनुहुन्छ ।

प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुनुहुन्छ । गएको असारमा सम्पन्न लोक सभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी हुनुभएको थियो । दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि गान्धीले वायनाड छाडेर आफ्नी बहिनीलाई उम्मेदवार बनाउनुभएको थियो ।