अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी बल

झापा। सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो ।

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट ९बिओपी०हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं. गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिनुभयो । उहाँका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरुले रु चार करोड ७८ लाख ४३ हजार पाच सय ५३ मूल्य बराबरको कर बीजक नभएको अवैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको सूचना अधिकारी रसाइलीले बताउनुभयो ।

बरामद भएका मालसामानहरुमा लागुऔषध, मदिरा, लत्ताकपडा, सवारी साधन, चौपाया, मोटर पार्टस्, सुर्तीजन्य पदार्थ, हार्डवेयर, मासुजन्य, किराना सामान लगायत रहेका छन् । गत आवमा सशस्त्र प्रहरी बलले झापामा भन्सार छलेर भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार मूल्य बराबरको मालसामान बरामद गरेको थियो । उक्त अवधिमा लागुऔषधका एक सय चारजना कारोबारी, ८१ वटा चौपाया, १२ सवारी साधन, सात सय ८९ गोलिया काठ र २४ बोरा पटाका समातिएको थियो ।

बलको काँकडभिट्टास्थित सीमा सुरक्षा गुल्मले मेचीनगर–६ मा शुक्रबार रु एक लाख ८० हजार मूल्य बराबरको सुपारी बेवारिसे अवस्थामा फेला पारेको छ । सुपारी नेपालबाट भारत लैजान प्रतिबन्ध भउ पनि तस्करहरुले सीमा सुरक्षाकर्मीको आँखा छलेर भारत लैजाने गरेका छन् ।

सुपारीसँगै रु ५७ हजार मूल्य बराबरको पाँच हजार ८६ वटा विभिन्न फूलका बिरुवा सीमा क्षेत्रबाट बेवारिसे अवस्थामा फेला पारेको थियो । केही दिनअघि भन्सार छलेर भित्र्याइएको ठूलो मात्राको मदिरासमेत सशस्त्र प्रहरी बलले बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बलको काँकडभिट्टा गुल्मले यस्ता गतिविधि नियन्त्रणका लागि पूर्वीनाकामा चेकजाँचका लागि जोजो नामक तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको सूचना अधिकारी रसाइलीले जानकारी दिनुभयो । काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषधको ओसारपसार रोक्न सहज भएको उहाँको भनाइ छ ।

४ महिनाको अवधिमा जिल्लामा सशस्त्र प्रहरी बलले लागुपदार्थ ओसारपसारमा संलग्न ५४ जना र त्यस कार्यमा प्रयोग भएका आठवटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । गत कात्तिक २९ गते काँकडभिट्टाको मेची पुलमा तालिम प्राप्त कुकुरको सहायताले भारतबाट सिटी सफारी चढेर नेपाल आउँदै गरेका तीनजनाको मलद्वारबाट ब्राउन सुगर बरामद गरिएको थियो । सूचना अधिकारी रसाइलीका अनुसार मलद्वारमा प्लास्टिकको पोको पारी ब्राउन सुगर तस्करी गर्नेहरु मुगु जिल्लाको खत्याड गाउँपालिका–७ का २२ वर्षीय हिराप्रसाद जैसी, मेचीनगर–१० का ३३ वर्षीय नेसरु मिया र दमक–३ का २५ वर्षीय मनिष धिमाल रहेका छन् ।

झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट तस्करहरुले भन्सार छलेर लागुऔषध, लत्ताकपडा, मदिरा, मलखादलगायत सामान नेपाल भित्र्याउने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आपसी सहकार्यका साथ नियन्त्रणमा खटिएका हुन् । सशस्त्र प्रहरी बलले सीमाको सुरक्षा, अन्तर सीमा अपराध नियन्त्रण, मानव तस्करी नियन्त्रण, हातहतियार तस्करी नियन्त्रणलगायत कार्यमा विशेष निगरानी बढाएको रसाइलीले बताउनुभयो ।

तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने घूसपैठसमेत सशस्त्र प्रहरी बलले नियन्त्रण गर्दै आएको छ । गत कात्तिक २८ गते भारतको पानीटङ्कीबाट नेपालतर्फ विना प्रवेशाज्ञा घुसेका दुईजना बङ्गलादेशी नागरिकलाई सशस्त्र प्रहरी बलको सीमामा तैनाथ टोलीले नियन्त्रणमा लिएर अध्यागमन कार्यालयमा अनुसन्धानका लागि बुझाएको थियो ।