अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली
काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पर्नुभएको छ।
नेकपा (एमाले) का काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभएको हो।
आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडिने जनाउँदै उहाँले कागले कान लग्यो भन्दैमा कागका पछिपछि आकाशतर्फ हेरेर कागका पछिपछि दौडिन आवश्यक नरहेको बताउनुुभयो।
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो।
अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबिच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरूत्साहित गर्न लाग्ने बताउनुभयो।
बैङ्कको ऋण तिर्नुपर्दैन भन्नेले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उहाँले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गर्नुभयो।