मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र : स्वास्थ्यमन्त्री पौडेल
काठमाण्डौ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।
तोकिएको भन्दा धेरै शुल्क लिएको गुनासो आएकोमा यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गर्नुभएको थियो ।
त्यसैअनुसार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजै जानकारी पाउने व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले पठाएको पत्रमा टिकटसहित अरू सेवाको विवरण, शल्यक्रिया शुल्क, सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।
परिपत्रपछि विवरण सार्वजनिक भएको र नभएकोबारे अनुगमन गर्ने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा अनुगमन गर्ने र तोकिएको भन्दा धेरै लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।