मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्रै गृहमन्त्री लेखक

काठमाण्डौ।गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताउनु भएको छ। आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताउनु भएको हो।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउनु भयो । दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ। उहाँले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच कुनै पनि खटपट नभएको गृहमन्त्री लेखकलेस्पष्ट पार्नुभयो । सामान्य छलफलको विषयलाई तिललाई पहाड बनाएर बेकारको हल्ला चलाएको दाबी गर्नुभयो ।

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ।