बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान

काठमाण्डौ।गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ । कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।

संस्थाले २५ किसानलाई सामुहिक पशु बिमा बापतको रु २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार ५ वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले रुपौँया ४ लाख १८ हजार रकम पाउनुभएको छ । क्षतिको मुल्याङ्कनमा कम बिमा रकम पाउनेमा रुपौँया ३० हजारस्म्म पाएका थिए ।

सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका हुमागाईंले बताउनुभयो । उहाँका अनुसार संस्थाको विपद् कोषमा रुपौँया १ करोड २० लाख बिमा रकम सञ्चित रहेको छ । संस्थाले रुपौँया १ लाख बिमा बराबरको वार्षिक रुपौँया १ हजार र्२ सय किसानबाट उठाउने गरेको छ । संस्थाले उक्त क्षेत्रका ३ सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।
रसस