नेपालको बिजुली बङ्गलादेशमा निर्यात सुरू

काठमाण्डौ।नेपालले आजदेखि बङ्गलादेशमा बिजुली निर्यात सुरू गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले बङ्गलादेशमा बिजुली निर्यातको औपचारिक शुरू गर्नुभएको हो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बङ्गलादेशमा निर्यात हुन थालेको हो । त्रिदेशीय सम्झौता अनुसार नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्नेछ । जस अनुसार यो याममा बिजुली निर्यात गर्ने अन्तिम दिन आज भएकोले आज एक दिनमात्रै निर्यात हुन्छ । अब आउँदो वर्षको जुन महिनादेखि नियमित निर्यात गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि नेपालले भारतमा मात्रै बिजुली निर्यात गर्दै आएकोमा अब तेस्रो देशमा पनि निर्यात शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ६ दशमलव ४ सेन्ट अमेरिकी डलर अर्थात् झन्डै आठ रुपैयाँ ६४ पैसाका दरले बङ्गलादेशलाई बिजुली निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बङ्गलादेशमा बिजुली निर्यात गर्दा प्रसारण लाइन बापत भारतीय पक्षलाई तिर्नुपर्ने शुल्क बङ्गलादेशी कम्पनीले तिर्ने छ ।