दार्चुला जीप दुर्घटना हुदा ८ जान पुग्यो ज्यान गुमाउनेको सङ्ख्या

काठमाण्डौ।दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल र शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का विरेन्द्र बोहरा, सुदिप बोहरा, भारतको उत्तर प्रदेश विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन् ।

घाइते पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
तस्बिर :रासस