युएइलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक विश्व कपमा छनोट
युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल आईसिसी यु–१९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा आज (बुधबार) भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो ।
युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।
यु–१९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।