नेपालसंग कुवेत १ सय ६५ रनले पराजित
काठमाण्डौ । नेपालले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १ सय ६५ रनले हराएको छ ।
नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो ।
यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् । ५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी पनि बनेकी छिन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग २/२ खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।