महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि अझै चुनौती छन परराष्ट्रमन्त्री देउवा

काठमाण्डौ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गर्नुभएको छ ।

युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताउनुभएको हो ।

नेपालका महिलाहरुले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारको बिजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । सो चौथो विश्व महिला सम्मेलनले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिलाविरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको उहाँले बताउनुभयो ।

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै उहाँले त्यसयता नेपालका महिलाहरुले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरु महिलाले संवैधानिक रुपमै प्राप्त गरेको बताउनुभयो ।

सो सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैङ्गिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाले बातउनुभयो । महिला र बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको उहाँले बताउनुभयो ।
मन्त्री डा राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनिकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकाङ्कमा नेपालले प्रगति गरेको उल्लेख गर्नुभयो ।

उहाँले नीतिहरू लैङ्गिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपाङ्गता भएकाप्रति केन्द्रित रहेको जानकारी दिनुभयो ।

मन्त्री डा राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै तर पनि महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको धारणा राख्नुभयो ।

सबै खाले चुनौतीहरुको पहिचान गरी कति बर्षमा के कसरी समाधान गर्ने भन्ने स्पष्ट खाका एवं कार्ययोजना नै बनाएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।