शंखधर साख्वा नेपाली समाजको प्रेरणा : उपप्रधानमन्त्री सिंह

काठमाण्डौ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवम् नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।

शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले साख्वाले तत्कालिन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनिय योगदान गरेको बताउनुभयो । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताउनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गए पनि शंखधर साख्वा प्रतिको भावना कहिले परिवर्तन हुँदैन । समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ । त्यो भावना अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

यस्तै, उहाँले साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउदा खुसि लागेको बताउँदै संस्कृती, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि सिंहले बताउनुभयो ।

साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालिन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गर्नुभयो । २०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेकोे नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गर्नुभएको इतिहास रहेको छ ।