सिन्धुलीमा १ जनामाथि गोली प्रहार
सिन्धुली।सिन्धुलीको हरिहरपुरमा १ जनामाथि गोली प्रहार भएको छ । मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
तराई मूलका ३ जना अपरिचित व्यक्तिले बागमती गाउँपालिका–१ का प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काका अनुसार मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बोम्जनमाथि गोली प्रहार भएको हो ।
उहाँका अनुसार ३ जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनलाई रोकी छोटो हतियार ९कट्टा० प्रहार गरेका थिए । गोली प्रहार गरेसँगै ३ नै जना फरार रहेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । बोम्जनसँगै सवार रहेका उनका भाइ दिल बहादुर बोम्जन भने सकुशल रहेका छन् ।
गोली प्रहारबाट मोटरसाइकल चलाइरहेका बोम्जनले प्रयोग गरेको हेलमेटको दायाँ तर्फबाट गाला छेडिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । गोली प्रहारबाट घाइते भएका बोम्जनको सर्लाहीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जको वयोधा अस्पताल पठाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । बोम्जनको अवस्था सामान्य रहेको उनको भनाई छ । गोली प्रहार गरी फरार रहेका समूहको खोजीकार्य भइरहेको उनले बताए ।