अर्थ समितिका कार्य प्रभावकारी बनाउन छलफल

काठमाण्डौ।सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका कार्य प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरुको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।

संसदीय समितिका बैठकहरुमा गणपूरक सङ्ख्या (कोरम) नपुग्ने समस्या छ ,कोरम नपुरयाइ छलफल र निर्णयहरु गर्न नियमले नमिल्ने, यस विषयमा चासो देखाउनु भएको,समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई जानकारी गराउने र सदस्यहरुको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको उहाँले बातउनुभयो ।

समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाईका साथ लागू गरिनुपर्ने बताउनुभयो । समितिमा गणपूरक संख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उहाँको भनाई थियो । त्यस्तै, सांसद जुली कुमारी महतोले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयहरुलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताउनुभयो ।

अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधिन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरुको मत छ । चाडबाडहरु सकिएको र अहिले संसदको हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरु बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरुको थियो ।