हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति , एकमुष्ट टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज

काठमाण्डौ । वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था टीबीए खारेज भएको छ । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालक सहभागी बैठकमा टीबीए खारेज गर्ने सहित पाँच बुँदे सहमती भएको हो ।

त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको बैठकपछि निकालिएको विज्ञप्तीमा उल्लेख छ । पाँच बुँदे सिहमतीमा सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाइ सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाइ भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्ने उल्लेख छ ।

ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने छ । त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाइ भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको पनि प्राधिकरणले जनाएको छ ।

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण शुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरूले महँगो हवाइभाडा लिएको गुनासो बढिरहेको बेला हवाई भाडा नियन्त्रणको सहमती भएको हो ।