बर्दिबासमा दुर्घटना हुदा १ जानको मृत्यु , ३ जान घाइते

बर्दिबास।पूर्वपश्चिम लोक मार्गको बर्दिबास(५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

दुर्घटनामा सर्लाही ईश्वरपुर १२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको हो । बर्दिबास प्रहरीका अनुसार उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मगरातीको बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परि महोत्तरी बर्दिबास(७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर १२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते छन् ।

प्रहरीको सहयोगमा अस्पतालमा भर्ना गरिएका उनीहरूको टाउको, छाती र कम्मरमा चोट लागेको छ । अस्पताल स्रोततकाअनुसार घाइतेको अवस्था मध्यम छ ।

बर्दिबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार ट्रेलरमा मान्छे बोकेर महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नंम्बरको ट्याक्टरलाई सोही दिशातर्फ गइरहेको ना ८ ख ३१६ नंम्बरको ट्रिपरले हिजो साँझ करिब ७ बजे पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । प्रहरीकाअनुसार मृतक र घाइतेहरू सबै ट्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए ।

दुर्घटनामा संलग्न दुवै सवारीसहित चितवन रत्न नगर ११ का ३९ वर्षीय ट्रिपर चालक जितबहादुर लोप्चन र सर्लाही ईश्वरपुर १२ का १९ वर्षीय ट्रयाक्टर चालक शीतल गौतमलाई बर्दिबास प्रहरीले नियन्त्रणमा लिएको छ ।