बाग्मती नदी सफाइ महाअभियानको ६ सय हप्ता पूरा

काठमाण्डौ । बाग्मती नदी सफाइ महाअभियानको आज ६ सय हप्ता पूरा भएको छ । २०७० साल जेठ पाँच गतेदेखि शुरू भएको अभियानको आज ६ सय हप्ता पूरा भएको हो ।

सफाइ अभियन्ताहरुले हरेक हप्ताको शनिवार बिहान बाग्मती तथा बाग्मतीका सहायक नदीहरुमा सरसफाइ गर्दै आएका छन् । बाग्मती सफाइ महाअभियान शुरू भएपछि भूकम्प, कोभिड १९ महामारीजस्ता कठिन अवस्थामा पनि अभियान्ताहरुले सफाइ अभियानलाई निरन्तरता दिएका छन् ।

कोभिडको बेला लकडाउन हुँदा पनि नदी छेउमा बस्ने अभियान्ताहरुले साङ्केतिक रुपमा सफाइ गरेर अभियानलाई निरन्तरता दिएको अभियान्ता माला खरेलले बताउनुभयो ।

महाअभियान ६ सय हप्ता पूरा भएको अवसरमा आज दिउँसो साढे २ बजे तिलगङ्गामा विशेष कार्यक्रम रहेको अभियान्ता चक्रबहादुर चन्दले जानकारी दिनुभयो ।

बाग्मती सफाइ अभियान शुरू भएको ६ सय हप्तामा पनि नदीको अवस्था फोहोर नै रहेको भनेर आलोचना हुने गरेको छ । तर अभियान्ताहरु दशक अघि नै मृत अवस्थामा पुगिसकेको बाग्मती र बाग्मतीका सहायक नदीहरुमा प्राण भर्ने काम सफाइ अभियानले गरेको बताउँछन् ।

सफाइ अभियानबाट नदी सफा राख्नुपर्छ भन्ने जागरण बढेको र यस्तो जागरण काठमाण्डौ उपत्यकाबाहिर पनि फैलिएको अभियान्ताहरुको भनाइ छ ।