अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिकालाई सामाजिक सञ्जालमा निषेध गर्दै

अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यसको योजना बनाइरहेको छ ।

यससम्बन्धी प्रस्तावित कानुन आगामी हप्ता संसदमा पेश गरिने प्रधानमन्त्री एन्टोनी अल्बानिजले बताउनुभयो । सामाजिक सञ्जालहरूले अस्ट्रेलियाका बालबालिकामा पार्ने नकारात्मक प्रभाव र हानी कम गर्न यो विधेयक ल्याउन लागिएको उहाँको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ । कानुनका कयौँ विवरणहरूबारे छलफल हुन बाँकी नै रहेको छ । प्रतिबन्ध सामाजिक सञ्जालमा अहिले नै खाता बनाइसकेका केटाकेटीहरूमा लागू नहुने बताइएको छ ।

अभिभावकबाट स्वीकृति पाएर सामाजिक सञ्जाल खाता खोलेका केटाकेटीका लागि भने उमेरको सीमा हुने छैन । बालबालिकाहरूमा सामाजिक सञ्जालको पहुँचबारे आफूहरूले तर्कसङ्गत कदम चालिरहेका छौँ भन्ने जिम्मेवारी सामाजिक सञ्जालहरूको भएको सरकारको भनाइ छ । यस कानुनमा प्रयोगकर्ताहरूलाई दण्ड हुने छैन ।

तर कानुनको कार्यान्वयनको गर्ने जिम्मा अस्ट्रेलियाको अनलाइन नियामक ईसेफ्टी कमिस्नरको भएको अल्बानिजले बताएका छन् । विधेयक पारित भएको १२ महिनामा लागू हुनेछ । बेला बेलामा यसको समीक्षा पनि हुने बताइएको छ ।

सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा क्षति गर्छ भन्नेमा अधिकांश विज्ञहरू सहमत छन् । तर यसलाई पूरै निषेध नै गर्नु पर्छ भन्नेमा राय बाँडिएको पाइन्छ ।