सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र
काठमाडौँ- सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन्।
कांग्रेस र एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएको हो । संयन्त्रमा दुवै दलका पदाधिकारी सहितका नेताहरू छन्।
संघ, प्रदेश र स्थानीय तहसम्मै संयन्त्र बनाएर सबै तहका सरकार प्रभावकारी बनाउने कांग्रेस-एमालेबीच समझदारीअनुसार संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन समन्वय संयन्त्र बनाइएको नेताहरूको भनाइ छ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।
गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
ओली दुई वर्ष र कांग्रेस सभापति देउवा चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र एमालेबीच भएको छ।
कांग्रेस र एमाले नेतृत्वमा संघदेखि प्रदेश सरकार गठन भएका छन्।
संघीय र प्रदेश सरकारका कामकाजलाई प्रभावकारी र जनअपेक्षाअनुसार सञ्चालन गर्न संयन्त्रले काम गर्ने नेताहरूको भनाइ छ।