रामेछापमा युवक बेपत्ता घटनामा १ जना पक्राउ

रामेछाप।रामेछापको मन्थली नगरपालिका-१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता हुनुहुन्छ ।

प्रहरीले तामाकोशी नदीमा उहाँको खोजतलास गरिरहेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली-१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ दुवै जनासँगै रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।