द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता स् दोश्रो खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

काठमाण्डौ । २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियासँग खेल्दैछ । मिसन रोड ग्राउण्डमा खेल नेपाली समयअनुसार आज बिहान सवा ६ बजेबाट शुरु हुनेछ ।

नेपाल एक खेलअघि नै हङकङमा चलिरहेको ‘द हङकङ सिक्सेस’ प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । इङ्ग्ल्याण्डसँगको खेलमा नेपालको यो ऐतिहासिक जीतसमेत हो ।

यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।