हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको धमाकेदार ब्याटिङ, जोराको अर्धशतक

काठमाण्डौ । हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको धमाकेदार ब्याटिङ गरेको छ । समूह बी मा रहेको नेपालले शनिबार बिहान हङकङको मङककमा भएको खेलमा अस्ट्रेलियाविरुद्ध टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । नेपालका लागि ओपनर सन्दीप जोरा र लोकेश बमले सानदार ब्याटिङ गरे ।

नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाउँदै अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको छ । नेपालका लागि कप्तान जोराले १६ बलमा अर्धशतक बनाए । अर्धशतक बनाएपछि रिटायर्ड हुनुपर्ने नियमअनुसार उनले मैदान छाडेपछि विवेक यादव मैदानमा आएका थिए । जोराको यो लगातार दोस्रो अर्धशतक हो । उनले इंग्ल्यान्डविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

बमले १३ बलमा ३३ रन बनाए । विवेकले ४ बलमा १२ रन बनाए । यसअघि शुक्रबार इंग्ल्यान्डलाई पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा पुगिसकेको छ । आजै दिउँसो श्रीलंकासँग नेपालले क्वार्टरफाइनल खेल्नेछ ।