उत्तर कोरियाद्वारा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण
उत्तर कोरियाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आईसीएमबी) प्रक्षेपण गरेको छ । यसअघि गएको वर्ष प्रक्षेपण गरेको मिसाइल ७३ मिनेटसम्म उडेकोमा अहिले ८६ मिनेटसम्म आकाशमै उडेको बीबीसीले जनाएको छ । यसले पाँच हजार किलोमिटरभन्दा लामो दूरीमा मार हान्न सक्छ ।
दक्षिण कोरियाले यसअघि नै उत्तरले अमेरिकामा नोभेम्बर ५ तारिखमा हुने राष्ट्रपति चुनावको नजिकै आफ्नो आईसीबीएम प्रक्षेपण गर्ने तयारी गरेको चेतावनी दिएको थियो । छिमेकी देश जापानले आज बिहानको प्रक्षेपणको अनुगमन गरेको र यो मिसाइल अहिलेसम्मकै सबैभन्दा उच्च उचाइमा पुगेको बताएको छ । आईसीबीएमको दायरा उत्तर अमेरिकी महादेशसम्म पुग्न सक्छ । अमेरिकाले यो परीक्षणप्रति आपत्ति जनाएको छ ।
उत्तर कोरियाले आफ्ना नागरिकको भलाइभन्दा सामूहिक विनाशको लागि गैरकानूनी हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई प्राथमिकता दिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता स्यान सेभेटले बताउनुभएको छ । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको लामो समयदेखिको प्रतिबन्ध वेवास्ता गर्दै गएको डिसेम्बरमा पनि आईसीबीएम प्रहार गरेको थियो ।
अमेरिकाले यो प्रक्षेपणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को धेरै प्रस्तावहरूको स्पष्ट उल्लङ्घन भनेको छ । उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा १० हजार जना सेना पठाएको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाएको तेस्रो दिन नै आईसीबीएम प्रक्षेपण हुनुलाई महत्वका साथ हेरिएको छ ।