कर्णाली प्रदेश सरकारले डाक्टर उत्पादन गर्न विद्यार्थीलाई सघाउँदै
काठमाण्डौ।कर्णाली प्रदेश सरकारले डाक्टर उत्पादन गर्न विद्यार्थीलाई सघाउँदै आएको छ । कर्णालीमा डाक्टरको कमी हुन नदिन प्रदेश सरकारले प्रदेश भित्रका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको हो । कर्णाली प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयमार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती दिएर सहयोग गर्न थालिएको छ ।
निर्देशनालयले अहिले चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक चार लाख रुपैयाँका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९र८० मा चार लाखका दरले ४० लाख र आर्थिक वर्ष २०८०/८१ मा पनि ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरिएको छ ।
छात्रवृत्ति पाउनेमा कालिकोटका निहान शाही, जाजरकोटका लक्सन शाही, जुम्लाका बिनोद रोकाय, डोल्पाका कमल विष्ट, दैलेखका आदित्य गौतम, रुकुम पश्चिमका विशाल केसी, सल्यानका आकाश अधिकारी र सुर्खेतका राज पोख्रेल रहेका छन् ।
यसैगरी हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती प्रदान गरेको छ । मापदण्ड पूरा गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ती प्रदान गरेको निर्देशनालयका निमित्त निर्देशक हमालले बताउनुभयो । यसका साथै सरकारले इन्जिनियर, सूचना प्रसिधि, भेटेरेनरी, नर्सिङ, कृषिलगायतका प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ ।
प्रदेश सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलालाई अध्ययन गर्न ‘छोरी बुहारी छात्रवृत्ती’ मार्फत सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाको सङ्ख्या बढेको निमित्त निर्देशक हमालले बताउनुभयो ।