सहकारी ठगहरूले अब उन्मुक्ति नपाउने मन्त्री गुप्ताको भनाई, प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने स्पष्टता

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताउनुभएको छ ।सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउनुहुँदै उहाँले अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताउनुभएको हो । उहाँले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ पर्नुभएका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन भनि गुप्ताले व्यक्त गर्नुभएको छ ।

फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उहाँको भनाइ छ । मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराउनुभभएको छ । तर, रास्वपासहित प्रतिपक्ष दलहरूले सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्नुले ती दलहरू सुशासनको पक्षमा नरहेको स्पष्ट भएको उहाँको भनाइ छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने स्पष्ट गर्नुभयो ।