अवैधरूपमा सुनको कारोबार गर्ने दुई भारतीय नागरिक काठमाण्डौबाट पक्राउ
काठमाण्डौ । अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाण्डौबाट पक्राउ परेका छन् ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका भारतको पश्चिम बङ्गालको कोलकाताका ३५ वर्षीय प्रशन्जित बेरा र पश्चिम बङ्गालको मेदनापुरका ३० वर्षीय आनन्द साहु रहेका छन् । उनीहरू काठमाण्डौ महानगरपालिका–२५ बाङ्गेमुढामा बस्दै आएका प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यकाको न्युरोडलगायत विभिन्न ठाउँमा अवैधरूपमा भन्सार छली गरिएका बिलबिजकविनाका सुन बिक्री÷वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो । भारतीय नागरिकको साथबाट एक सय १६ दशमलव ४५ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।