तातोपानी नाका आजबाट अस्थायी रुपमा सञ्चालन हुने
काठमाण्डौ।१ महिनाअघिको बाढी र पहिरोका कारण सडक तथा पुल बगाउँदा ठप्प रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ ।
भोटेकोशी नदीमा डाभइभर्सन बनाएर हिजोदेखि नाका सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले लार्चा र लिपिङमा पहिरोले पुल बगाएको थियो । पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो । अहिले अस्थायी रुपमा मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको हो ।दशैँको मुखमै पहिरोले सडक बगाएपछि तातोपानी नाका हुँदै आउने सामान बीचमै रोकिएका थिए ।
सडकमै रोकिएका गाडीमध्ये फलफूल र हलुका सामान व्यवसायीले बोकाएर अर्को सडक भएको ठाउँसम्म ल्याएका थिए । तर, ठूला सामान ल्याउन नसक्दा बीच बाटोमै रोकिएका थिए ।सडक सञ्जाल जोडिएसँगै रोकिएका गाडीलाई प्राथमिकता दिएर पार गराउने काम भइरहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।
तातोपानी भन्सारबाट विद्युतीय गाडी तथा विद्युतीय सरसामान, फलफूलजन्य सामान र लत्ताकपडा आउने गरेको छ । सडक अवरुद्ध हुँदा रोकिएका विद्युतीय गाडी लगायतका अरु सामान बोकेका गाडी क्रमशः पास गराउने काम भइरहेको काफ्लेले जानकारी दिनुभयो ।
तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आए पनि रसुवागढीको नाका भने अझै अनिश्चित रहेको छ । बाढीपहिरोले चीनतर्फको सडकमा बढी क्षति भएको र मर्मतमा ढिलाइ हुँदा सञ्चालन अनिश्चित भएको हो ।