वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई सरकारले अब १० लाख रुपैयाँ राहत

काठमाण्डौ। सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका आश्रित परिवारलाई दिइने राहत रकम ७ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिनुभएको हो ।

बिरामी उपचार खर्च पाएर ज्यान गुमाएकाका परिवारलाई पनि सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसअघि बिरामी उपचार पाइसकेपछि ज्यान गुमाएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत राहत रकम दिने व्यवस्था थिएन ।

गएको असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम बढाउने निर्णय गरेको थियो । यस्तो आर्थिक सहायता वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध हुँदै आएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले ज्यान गएमा १ वर्षभित्र कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

त्यस्तै कुनै कामको क्रममा अङ्गभङ्ग भएमा सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । त्यस्तै शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन समेत बोर्डले आर्थिक सहायता गर्दै आएको छ । दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।

बोर्डले त्यही रकमको आधारबाट राहत प्रदान गर्दै आएको हो । खाडी र मलेसियामा जाने श्रमिकले कल्याणकारी कोषमा १५ सय रुपैयाँ तथा जापान, कोरिया, इजरायल लगायतका देशमा जाने श्रमिकले २५ सय रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।