बंगलादेशसँग भारत ‘ब्याक टु ब्याक’ पराजित
काठमाडौं। बंगलादेशले साफ च्याम्पियनसिप २०२४ मा भारतलाई पराजित गरेको छ। तोहुरा खातुनको दुई गोलसँगै बंगलादेशले भारतमाथि ३-१ को जित दर्ता गरेको हो।
पाँचपल्टको च्याम्पियन भारतको साफमा बंगलादेशसँग यो ब्याक टु ब्याक पराजय हो। यसअघि बंगलादेशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको पछिल्लो संस्करणको समूहचरणको अन्तिम खेलमा ३-० को जित हात पारेको थियो। साफमा भारतको समग्रमा भने यो तेस्रो हार हो। सोही संस्करणमा रश्मिकुमार घिसिङको निर्णायक गोलमा भारत १-० ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।
भारतलाई पराजित गरेसँगै बंगलादेश समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ। बंगलादेशले दुई खेलबाट चार अंक पुर्यायो। भारत समान खेलबाट तीन अंकसहित अन्तिम चारमा प्रवेश गर्दा पाकिस्तान भने बाहिरिएको छ। पाकिस्तानले बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियो। तर, भारतसँग भने ५-२ ले पराजित हुनपुग्दा समूहचरणबाट स्वदेश फर्किन बाध्य भयो। बंगलादेशको पहिलो जितमा तोहुराबाहेक अफिदा खाँडकरले एक गोल थपिन्। भारतका लागि गोल मेसिन बालदेवीले गरेको गोल सान्त्वना रह्यो।