सुनको मुल्यमा नयाँ कीर्तिमान, ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको मुल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको मुल्य ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको मुल्यमा कीर्तिमान बनेको थियो ।

दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन १ हजार ४ सयले बढेर तोलाको १ लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको मुल्य त्यसयता बढिरहेको हो । सुनको मुल्य ७ दिनमा ५ हजार ४ सय रुपैयाँले बढेको छ ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू-राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले मुल्य बढेको हो ।

त्यस्तै आज चाँदीको मुल्यपनि बढेको छ । चाँदीको भाउ मुल्य रुपैयाँले बढेर तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।