हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।

आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै , गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका  र  आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको बातउनुभयो ।मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन आतङ्ककारी हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ ।

इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ ।इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।

सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ । रासस/एएफपी